Monday, November 17, 2008

समवेदनाका सन्देशहरू (कविता)


हरेक विहान झसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु
समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हन्छन्
गीताका अन्तिम पानाहरू

हरेक बिहान
हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर


(यो मेरो नयाँ रचना हो ।प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

1 comment:

rb ghimire, said...

La gajab chha kabita. Ani k chha sir naya khabar?

RB Ghimire,
Sudan, East Afrika